Thursday, August 14, 2014

किवी उत्पादनमा चिनियाँ चासो

काठमाडौं, २७ साउन- नेपालमा किवीखेतीको अध्ययन, अनुसन्धान र उत्पादनका लागि छिमेकी मुलुक चीनले सघाउने भएको छ । बहुमूल्य फल मानिने किवीको नेपालमा उत्पादनका लागि अनुकूल वातावरण रहेकाले चीनले चासो दिएको हो । नेपालमा उत्पादन भएको किवीको बजारीकरणमा समेत सघाउने चीनले प्रतिबद्धता व्यक्त गरेको छ ।
चीनको राष्ट्रिय फलसमेत रहेको किवीको राष्ट्रिय आवश्यकता पूरा गर्न चीनले नेपाललाई अनुकूल स्थानको रूपमा लिएको छ । राष्ट्रिय आवश्यकता पूर्ति गर्न चीनले बर्सेनि १ लाख ७० हजार टन किवी बाहिरबाट आयात गर्छ । गत साता नेपाल भ्रमणमा रहेको चीनको प्रतिनिधिमण्डलले नेपालमा किवीखेतीको व्यावसायिक विकासका लागि सहयोग गर्ने विषयमा छलफलसमेत गरेको छ ।
कृषि विकास मन्त्रालयका अधिकारीसँग समेत भेट गरी उनीहरूले नेपालमा किवीखेती गर्न सकिने क्षेत्रहरूको विषयमा समेत जानकारी लिएका छन् । किवीका लागि नेपालको जमिन राम्रो भएकाले यसको उत्पादनलाई प्राथमिकतामा राख्न उनीहरूले मन्त्रालयका अधिकारीलाई सुझावसमेत दिएको मन्त्रालयले जनाएको छ ।
नेपालको जमिन किवीका लागि उपयुक्त रहेकाले उत्पादनको सम्भाव्यताका बारेमा टोलीसँग छलफल गरिएको मन्त्रालयका सहसचिव राजेन्द्र अधिकारीले बताए । आर्थिक हिसाबले पनि नेपाललाई फाइदा पुग्ने भएकाले किवीको खेती विस्तारका लागि टोलीलाई मन्त्रालयले सकारात्मक प्रतिक्रिया दिएको थियो ।
नेपालले चाहेको खण्डमा आवश्यक किवीको उत्पादनका लागि आवश्यक सहयोग गर्ने चिनियाँ टोलीको भनाइ छ । यसअघि सन् ०१३ डिसेम्बरमा कृषि विकास मन्त्रालयका सहसचिवहरू सम्मिलित टोलीले सिन्चुवान प्रान्तको भ्रमण गरेका थिए । त्यतिबेला अन्य कुराका अलावा नेपालको फलफूल चीनमा लैजाने विषयमा समेत प्राथमिकताका साथ छलफल भएको थियो । कृषि विकास मन्त्रालयअन्तर्गतको फलफूल विकास निर्देशनालयसँग नेपालमा किवी खेतीका लागि अनुसन्धान गर्न चीनसँग द्विपक्षीय सम्झौता समेत गरिएको थियो । मापदण्ड पूरा गरे नेपालको सुन्तला जातका फलफूल र किवीसमेत चीनले लैजान चाहेको बताउदै आएको छ ।
फलफूल विकास निर्देशनालयका तत्कालीन निर्देशक महेन्द्रमान श्रेष्ठका अनुसार गत डिसेम्बरमा नेपालमा किवीखेतीको विकासका लागि चीन सरकारको सहयोगमा नयाँ परियोजना सुरु गर्ने सम्झौता भएको थियो । तत्कालीन समयमा चीन भ्रमणमा रहेको कृषि विकास मन्त्रालयको टोलीसँगको छलफलपछि ‘सिचुवान–नेपाल किवी फ्रुट साइन्स एन्ड टेक्नोलोजी कोअपरेसन’ शीर्षकमा सम्झौता भएको उनले बताए । तत्कालीन सम्झौतामा दुवै देशको साझेदारीमा नेपालमा किवीसम्बन्धी अध्ययन अनुसन्धान गर्ने, किवीसम्बन्धी प्रविधि, ज्ञान र सीप आदानप्रदान गर्ने, किवीको बीउबिजन आदानप्रदान गर्नेलगायत विषय समेटिएको श्रेष्ठले बताए ।
नेपालका तर्फबाट निर्देशनालयका निर्देशक श्रेष्ठ र चीनको तर्फबाट सिचुवान प्रोभेसनल एकेडमी अफ नेचुरल सिसोर्स साइन्सबीच डिसेम्बर ६ मा सम्झौता भएको थियो । “सम्झौताअनुसार चिनियाँ टोली नेपाल आएर थप अध्ययन गनुपर्ने थियो, पछिल्लो टोलीको भ्रमण यसैको निरन्तरता हो,” श्रेष्ठले भने, “थप काम गर्न चिनियाँ पक्षले अध्ययन गरी परियोजना तयार गर्नुपर्ने हुन्छ, जसअनुसार नेपालमा किवीको विकासका काममा चिनले सघाउँछ ।” श्रेष्ठ हालैमात्र उमेरको हदबन्दीका कारण निर्देशनालयबाट अवकाश भएका सहसचिव हुन् ।

No comments:

Post a Comment